८ बैशाख २०८१, शनिबार

नेपाल समूहका केही सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र केहीले नदिने


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संसद भवनको ल्होत्से हलमा छुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि संसदमा छलफल चलिरहँदा माधव समूहका सांसदहरु भने छुट्टै छलफल गरेका हुन् ।

स्रोतका अनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् भने केहीले नदिने भएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि माधव समूहका सांसदहरु छुट्टै छलफलमा बसेका थिए । देउवालाई नेपाल समूहले विश्वासको मत नदिए पनि पुग्ने भएपछि नेपाल समूह छलफलमा जुटेको थियो ।

ठाकुर पक्षले पनि मत दिने भएपछि देउवाले एमालेको मतबिनै बहुमत पाउने भएका छन् । यसअघि ठाकुर पक्षले देउवालाई समर्थन गरेको थिएन भने माधव समूहले विश्वासको मत दिने तयारी गरेको थियो ।

कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।

नेपाल समूहका ११ सांसदले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने बुझेको छ । स्रोतका अनुसार ओली र नेपालका २० भन्दा बढी सांसद तटस्थ बस्ने भएका हुन् । विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !