६ बैशाख २०८१, बिहिबार

समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सबैको साझा उद्देश्य भएको बताएका छन् ।

नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन साझा गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सहकार्य र सहयात्राबाट नै अगाडि बढ्न सकिने स्पष्ट पारे ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै उहाँले मुलकका सामु रहेका चुनौतीलाई सबैको साझा प्रयत्नबाट मात्रै सम्बोधन गर्न सकिने बताए । राजनीतिक दलको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको तथ्य पेश गर्दै प्रधानमन्त्री देउवाले यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव भएको स्पष्ट पारे ।

बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक विचार हुने तीनका बीचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषय स्वाभाविक र राम्रो भएको प्रधानमन्त्रीको भनाइ छ । देशका सामु केही साझा चुनौती, उद्देश्य र गन्तव्य रहेको स्पष्ट पार्दै उहाँले सहकार्य र सहयात्रालाई अगाडि बढाउन आफू तयार रहेको बताए ।

प्रधानमन्त्रीले भने, “गरिबी, बेरोजगारी, अशिक्षाजस्ता तमाम साझा समस्या छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन् ।” प्रधानमन्त्रीले कोभिड–१९ हाम्रो तत्कालको चुनौती भएको उल्लेख गरे ।

प्रतिनिधिसभा विघटनपश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापित भएपछि पहिलो बैठक प्रारम्भ भएकामा प्रधानमन्त्रीले सांसदलाई बधाइ दिए ।

प्रधानमन्त्रीले भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो । पटक-पटकको प्रतिनिधिसभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्योल र अनिश्चितताको स्थिति रहेको तथ्य पेश गरे ।

प्रधानमन्त्री देउवाले आफूलाई सो पदमा नियुक्त हुन सहयोग र समर्थन गर्नुहुने राजनीतिक दलका नेताहरू, माननीय सदस्यलगायत सबैमा धन्यवाद दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपले देश निक्कै प्रभावित भएको र दैनिक रुपले सङ्क्रमण बढी रहेको तथा मानिसको मृत्यु भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कोरोनाका कारण मृत्यु भएकाको चीर शान्तिको कामना गरेका छन् ।

अस्पतालमा उपचार गराइरहनुभएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दै उनले कोभिड-१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्ने सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले केपी ओली नेतृत्वको सरकारले विगत साढे तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिए । प्रधानमन्त्रीले भने, “विगतमा भएका राम्रा कामलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गर्दै लानुपर्नेछ । महत्वपूर्ण नयाँ काम पनि गर्नुछ ।”

प्रधानमन्त्रीले सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलबीच निरन्तर सम्वाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारे । प्रधानमन्त्रीले भने, “हामी राजनीतिक दलहरू एक अर्काका शत्रु होइनौँ बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नुपर्दछ ।”

संसद्लाई अधिकार सम्पन्न, जीवन्त र क्रियाशिल बनाउनुपर्नेमा जोड दिँदै उहाँले संसद्ले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्ने बताए । संसद्ले गर्ने निगरानीले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने, “निरन्तरको राजनीतिक अन्योल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिँड्न जरुरी छ ।”

प्रधानमन्त्रीले सबै सांसदसँग विश्वासको मत माग्दै भने, “म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधिसभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यले मलाई विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !