८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

आज आइतबार प्रतिनिधिसभाको दोस्रो सत्रको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत मागेका हुन् । पुन:स्थापित प्रतिनिधिसभाको वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् । प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रधानमन्त्री देउवाले कोभिड-१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उनले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाए ।

प्रधानमन्त्री देउवाले भने, “कोभिड-१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन् । विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ ।”

राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिए । उनले मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाए ।

नेपाली कांग्रेसका सभापति देउवाले भने, “मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ ।” मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उहाँले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गरे ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहेका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको पाँच दिनमै विश्वासको मत लिन लागेका हुन् । संवैधानिक इजलासको परमादेश अनुसार राष्ट्रपति भण्डारीले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताए । देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका दलका नेताहरुले आफ्ना धारणा राखिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !