काठमाडौँ । नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतसमेत व्यक्तिसँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
छलफल एवं परामर्शपश्चात क्रियाशील सदस्यता छानविन समितिले पेश गरेको निर्णय बमोजिमको पत्र अनुरुप केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बस्नेत समेतका व्यक्तिसँग स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारवाहीको टुङ्गो लगाउन पार्टी अनुशासन समितिलाई सभापति देउवाले निर्देशन दिनुभएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्रियाशील सदस्यताका विषयमा शुक्रबार बस्नेत लगायतले केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गरेको समाचार सार्वजनिक भएपछि आज बसेको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठकले अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो ।