काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री देउवाको आज साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि सोही अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
नेपालको संविधान २०७२ को धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आज सपथग्रहणपछि देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र समूहबाट सानो आकारको मन्त्रिमण्डल गठन हुने भएको छ ।