काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गरी पार्टी एकताको लागि गठित १० सदस्यीय कार्यदलले गरेको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
हिजोको लागि बोलाइएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको थियो । स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् ।
हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ । कार्यदलले पार्टी विवाद समाधानका लागि १० बुँदे सहमतिको प्रस्ताव तयार पारेको छ ।
लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै सत्तारुढ एमालेको विवाद समाधान कार्यदलमा सहमति जुटेपछि सो दल विभाजन हुनबाट जोगिएको हो ।कार्यदलमा प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्धा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरुप अगाडि बढ्ने सहमति भएको छ ।
विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू चिन्तित रहेकाले एकता अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।
दोस्रो तहका नेताहरुले गरेको सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न खोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।