१८ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज जवाफी बहस र एमिकस क्युरीको राय


संवैधानिक इजलास

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस हिजोदेखि शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस शुरु गरेका छन् ।

रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि ३ घण्टा समय निर्धारण गरिएमध्ये आज सोमबारका लागि २ घण्टा जवाफी बहस नै बाँकी छ । त्यसपछि अदालतको सहयोगी (एमीकस क्युरी) ले २ घण्टा बहस गर्ने गर्नेछन् ।

एमीकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक छन् भने सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।

आज सोमबार जवाफी बहस सकिएपछि एमीकस क्युरीको पालो आउनेछ । एमीकस क्युरीले कानूनअनुसार अदालतलाई आफ्नो स्वतन्त्र राय दिनेछन् । सम्भवत: आज सोमबार सम्पूर्ण बहस सकिनेछ । एमीकस क्युरीको रायपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गरिनेछ ।

उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्का सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सि ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !