९ मंसिर २०८१, आइतबार

एमाले केन्द्रिय कमिटी बैठकमा चीनको सफलतामा प्रशंसा


केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौँ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रिय कमिटी बैठकले पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसि चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक वधाइ ज्ञापन गर्दै सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको विश्लेषण गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रुपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा–स्वास्थ्य–कला– खेलकुद सहितका सामाजिक क्षेत्रहरू, अन्तरीक्ष विज्ञान लगायतमा हासिल गरेका प्रगतिहरू चामत्कारिक प्रकृतिका छन् ।

चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिका प्रशंसनीय रहेको एमालेको ठहर छ । “यो बैठक यी तमाम सफलता एवं उपलव्धिका लागि तथा सापेक्ष रुपमा समुन्नत समाजवादी मुलुक बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछ ।

त्यसरी नै दोश्रो शताब्दी लक्ष्य हासिल गर्न र चिनियाँ राष्ट्रको पुनरोदयको चिनियाँ सपना साकार पार्न पूर्ण सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछ ।” पारित प्रस्तावमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !