७ बैशाख २०८१, शुक्रबार

देउवाका वकिलप्रति महान्यायाधिवक्ताको टिप्पणी- अठार पुराणमा अब ‘गाली पुराण’ थपिने भयो


रमेश बडाल

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा आज सोमबारदेखि रिट निवेदकको बिपक्षमा रहेको सरकारी पक्षको बहस शुरु भएको छ ।

हिजो आइतबार रिट निवेदक पक्षबाट बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलको बहस शुरु भएको हो । सरकार पक्षवाट यो रिटमा महान्यायाधिवक्ता रमेश बडालले आज बहस गरेका छन् ।

उनले बहसको शुरूमै रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिललाई कटाक्ष गरेका छन् । उनले अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दा अदालतको क्षेत्राधिकार भित्र नपर्ने भन्दै खारेज गर्न माग गरेका छन् ।

‘बहस सुनियो। उहाँहरूको बहस सुनेपछि हाम्रा पुराणको याद आयो। हामीकहाँ अठार पुराण छन्। यहाँ अब अर्को पुराण पनि थपिने रैछ- गाली पुराण,’ महान्यायाधीवक्ता बडालले भने,‘गालीको जवाफ गालीले दिन मिल्दैन। अब केही संवैधानिक तथा कानुनी पाटोबारे कुरा गर्छु।’

सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ । सरकारी पक्षवाट यो रिटमा महान्यायाधीवक्ता कार्यालयका वकिलहरूले भने साढे ७ घण्टामा ११ जनाले बहस गर्नेछन् । विपक्षीको तर्फबाट महान्यायाधिवक्ता बडाललाई बहस गर्न ३ घण्टा समय दिइएको छ ।

यसैगरी नायब महान्यायाधिवक्ता पदम पाण्डेलाई बहस गर्न २ घण्टा समय दिएको छ । ११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए । सरकारी वकिललाई साढे ७ घण्टा र निजी वकिललाई साढे ६ घण्टा समय दिइएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !