१९ बैशाख २०८१, बुधबार

आजदेखि सरकारी वकिलको बहस शुरु, महान्यायाधिवक्ता बडालले ३ घण्टा बहस गर्ने


रमेश बडाल

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा आज सोमबारदेखि रिट निवेदकको बिपक्षमा रहेको सरकारी पक्षको बहस शुरु हुँदैछ । हिजो आइतबार रिट निवेदक पक्षबाट बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलको बहस शुरु हुन लागेको हो ।

संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका छन् ।

सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ । सरकारी पक्षवाट यो रिटमा महान्यायाधीवक्ता कार्यालयका वकिलको बहस हुनेछ । उनीहरूले भने साढे ७ घण्टामा ११ जनाले बहस गर्नेछन् ।

विपक्षीको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्नेछन् । बडाललाई बहस गर्न ३ घण्टा समय दिइएको छ । यसैगरी नायब महान्यायाधिवक्ता पदम पाण्डेलाई बहस गर्न २ घण्टा समय दिएको छ । महान्यायाधिवक्ताको कार्यालयका ११ जना वकिलले बहस गर्ने तय भएको छ ।

११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए । सरकारी वकिललाई साढे ७ घण्टा र निजी वकिललाई साढे ६ घण्टा समय दिइएकाे छ ।

सोपछिको साढे ७ त घण्टा प्रधानमन्त्री केपी शर्मा र सभामुख अग्नी सापकोटाका वकिलले बहस गर्ने पालो आउनेछ । सभामुखका कानून व्यवसायीले एक घण्टाको समय निर्धारण गरिएको छ ।

सभामुखका कानून व्यवसायीको बहसपछि रिट निवेदक पक्षले पक्षले थप ३ घण्टा जवाफी बहस गर्न पाउने छ । रिट निवेदक पक्षले दिने जवाफ सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुनेछ ।

जवाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आ-आफ्नो राय दिनेछन् । अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !