गण्डकी । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ ।
मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहनुभएका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको अन्तरिम कार्यविभाजनप्रति जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएको छ ।
पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
जसपाबाट सरकारमा सहभागी विना विभागीयमन्त्री हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र अर्का विना विभागीय मन्त्री दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए ।
तर अर्थ मन्त्रालयमा दाबी गरेका आचार्यले उर्जाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । ‘उहाँहरुले जे–जे भन्यो हामीले त्यो मानिदिनुपर्ने, हामीले भनेको केही पनि मान्नु नपर्ने ?,’ उनले प्रश्न गरे, ‘हामी कांग्रेसको कार्यकर्ता भएर सरकारमा सहभागी भएको त होइन । जनता समाजवादी पार्टीको हैसियतमा उहाँले सम्मान गर्नुपर्छ ।’
मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुभन्दा अघि कांग्रेसले चारबुँदे सहमति गरेको थियो, जसमा जसपालाई अर्थसहित दुई मन्त्रालय दिने उल्लेख थियो ।
मुख्यमन्त्री पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् । बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनीहरुले आइतबार नै पदभार ग्रहण गरे ।
मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् । मुख्यमन्त्रीले उनलाई तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका थिए । बिना विभागीय मन्त्री मनाङेले आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति नै गरिसकेको भन्दै उनले आफू पछि नहट्ने बताए । ‘म र जसपा एउटै पार्टी भएर सरकारमा गएको हो । म एक्लै गएको होइन,’ मनाङले भने, ‘सुरुको एग्रिमेन्टबाट पछि हट्छन् भने यिनीहरुको समस्या हो । हाम्रो होइन ।’
मन्त्री मनाङेले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखे। ‘माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय अनि हामी जसपासँग ३ वटा मन्त्रालय भनेर पहिल्यै कुरा भाको हो । अहिले उनीहरु लोभी भएर हुँदैन’, उनले भने, ‘मलाई भौतिक नदिए मुख्यमन्त्री दिन्छन् । मैले भन्दिसक्या छु ।’