६ बैशाख २०८१, बिहिबार

क्रियाशील सदस्यता विवाद टुंगाउन देउवाले बोलाएको काँग्रेस पदाधिकारी बैठक बस्दै


काँग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । क्रियाशील सदस्यता विवाद टुंगाउन सभापति शेरबहादुर देउवाले बोलाएको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

आज बस्न लागेको बैठकमा कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीबारे भइरहेका छानविन र महाधिवेशनका तयारीबारे छलफल हुनेछ । बैठकमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेकोले क्रियाशील सदस्यतामा उजुरी परेकोले के-कसरी टुंग्याउने भन्ने बारेमा गहनतम छलफल हुने बुझिएको छ ।

पार्टीको सिस्टममा इन्ट्री भएका ८ लाख बढी क्रियाशील सदस्यको नाम काँग्रेसले सार्वजनिक गरिसकेको छ । १० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसले सिन्धुपाल्चोक लगायत केही जिल्लाबाट क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी भएकोले विवरण पठाउन हिजो शनिबारसम्म समय दिइएको थियो ।

क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न पदाधिकारी तहमा छलफल गर्न लागिएको बुझिएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

महाधिवेशनका लागि २ महिना बाँकी भएपनि क्रियाशील सदस्यता विवाद टुंगो लागिसकेको छैन । महाधिवेशन कार्यतालिका अनुसार कांग्रेसका देशभरका क्रियाशील सदस्यहरूको टुंगो छानबिन समितिले असार २० गतेभित्र लगाउनुपर्नेछ ।

निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा काँग्रेसभित्र अझै दुविधा दूर हुन नसकेको अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नवप्रवेशीका नाममा क्रियाशील सदस्यतामा संस्थापन पक्षले मनपरी गरिरहेको आरोप समेत लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !