काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज विहीबार विभिन्न मिडियाका सम्पादकहरुसँग अन्तर्क्रिया गर्दैछन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग आज दिउँसो दुई बजेपछि संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया गर्न लागेका हुन् ।
विपक्षी गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा पौडेलले सम्पादकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस सभापति देउवा निवासमा बुधबार साँझ बसेका पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवी, सम्पादक लगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।
सम्पादकहरूसँगको अन्तरक्रियापछि आजै विपक्षी शिर्ष नेताहरुले विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बुझिएको छ । यसैगरी विपक्षी गठबन्धनले बुद्धिजीवी र नागरिक समाजसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।