१२ बैशाख २०८१, बुधबार

एकता जोगाउन एमाले नेता भीम आचार्यको ६ बुँदे प्रस्ताव


भीम आचार्य

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य भीम आचार्यले पार्टी एकता जोगाउन ६ बुँदे प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आचार्यले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीलाई निशर्त प्रचलनमा ल्याउनुपर्ने बताएका छन् ।

उनले गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका बिभाजनकारी निर्णय र गतिविधिहरू यसको मुख्य स्रोत भएको उनको ठहर गर्दै अब एकता कायम गर्न उनले ६ वटा सुझाव दिएका हुन् ।

उनले एमाले एकताका लागि नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरू तुरुन्तै विनासर्त सुचारु गरिनुपर्ने सुझाव दिएका हुन् ।

यस्‍ता छन् एमाले एकता जोगाउन आचार्यका ६ सुझावहरु

१. पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरू तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्वभौम सदस्यहरूबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

२. गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नु पर्दछ ।

३. पार्टी भित्रका गुटहरूको टकरावका कारण यसबी भएका द्वन्द्व र कामहरूको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमी-कमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।

४. आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरूको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।

५. पार्टीलाई विधि-विधान र स्थापित मान्यताहरूको आधारमा सञ्चालन गर्नु पर्दछ ।

६. नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरूसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरू रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !