८ मंसिर २०८१, शनिबार

राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिनुभएको छ । उहाँले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा आइतबार बोलाएर अहिले कोभिड–१९ सङ्क्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनको लागि भइरहेका तयारीबारे जानकारी लिनुभएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ सम्बन्धी भएका कामलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा कोभिड–१९ को सङ्क्रमणबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति र सबलीकरण गर्ने, आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन र वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन सुझाव दिनुभयो ।

यस्तै बहुक्षेत्रीय सहयोग र सहकार्य अभिवृद्धि गर्न तथा विश्वविद्यालयसँग सहकार्य गरी अनुसन्धानमा जोड दिन राष्ट्रपतिले आग्रह गर्नुभयो । उहाँले कान्ति बाल अस्पतालको सुधार गरी बालबालिकाका लागि उपयुक्त स्वास्थ्य सेवाको व्यवस्था गर्न र निजी तथा सामुदायिक अस्पतालको सेवालाई सहज बनाउनुपर्नेमा पनि जोड दिनुुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक, नर्स र स्वस्थ्यकर्मीको प्रशंसा गर्नु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !