१२ आश्विन २०८१, शनिबार

वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्धा चलाइएको भन्दै काँग्रेसद्वारा आपत्ति प्रकट


नरोत्तम वैद्य

हेटौडा । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिने बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।

हिजो आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका थिए । सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै नाथुराम गोड्से कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका थिए ।

चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफूले बोलेका अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी मागेका थिए । आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताएका थिए ।

वैद्यले लिखित आत्मालोचना गर्दै आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका थिए । उनले अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय मर्यादा बाहिर गएर बोलेको महसुस गरेको बताएका थिए ।

शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्या हिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दायर भएको जनाएको छ ।

संविधानले दिएको प्रदेशसभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले मुद्धा दर्ता गरिएकाले मुद्धा फिर्ता लिन पनि नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले आग्रह गरेको छ ।

कांग्रेसले वैद्यमाथि मुद्धा चलाउनु गैर संवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनैपनि निकायलाई अधिकार नभएको बताएको छ । मुद्धा तत्काल फिर्ता लिन आग्रह समेत गरेको छ । अन्यथा प्रदेश सभा मार्फत नै सशक्त प्रतिवादमा उत्रिने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !