७ मंसिर २०८१, शुक्रबार

एमाले विवाद असार २ गते भन्दा अघि नै टुंग्याउने तयारी


केपी ओली र माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा झलनाथ खनाल-माधव नेपाल समूह पनि सहभागी हुने अपेक्षा गरेको छ । दुवै समुहका नेताहरु पार्टीको आन्तरिक विवाद मिलाउन कम्मर कसेर लागेका छन् ।

नेकपा एमाले एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार खनाल-नेपाल समूहलाई पनि सहमतिमा ल्याएर बैठकमा राख्ने योजना छ । उनले दुवै समूहका नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए ।

प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका सांसदहरु एकै ठाउँमा उभिनुले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने ती नेताको भनाइ रहेको छ । एमालेका दुवै समुहहरु मिल्दा प्रदेश नम्वर १ र बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभावाट पास भएको छ ।

उनले धेरै कुरा मिल्दै गएकोले नमिलेका कुराहरु पनि मिल्दै जाने उनले बताए । मिलेका कुराको नतिजा प्रदेशमा, संघीय सरकारमा छिटफुट देख्न थालेको बताउदै उनले बाँकी कुरा पनि मिलाउने कोसिस जारी रहेको स्पष्ट पारे ।

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेलबीच ४ घण्टा लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल आज बिहान ९ बजे गौतम निवास पुगेकोमा उनीहरुबीच ९ बजेदेखि १ बजेसम्म ४ घण्टा लामो कुराकानी भएको बुझिएको छ ।

एमालेका ओली र नेपाल समूह मिलेपछि हिजो प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने अघिल्लो दिन मुख्यमन्त्री राई र माधव नेपाल पक्षीय नेता भिम आचार्यबीच संवाद भएपछि आचार्यले पार्टी केन्द्रमा जे भएपनि उनको समूहले सरकारलाई साथ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । एमाले एकढिक्का भएपछि बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास भएको हो ।

३० गते शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न पार्टीका प्रदेश सभा सांसदहरुलाई निर्देशन दिएका थिए ।

सुदुरपश्चिममा एमालेको नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली समूह र माधव समूहका सांसदले गृहकार्य थालेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !