काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई पार्टीका नाममा गरिएको समर्थन फर्जी रहेको दावी गरेको छ । जसपाको यादव पक्षले पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारलाई समर्थन रहेको उल्लेख गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
आइतबार केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश समितिको अध्यक्ष भनी अनिल परियार गरेको पत्राचार फर्जी र अनधिकृत भरहेको बताएका हुन् । परियार जसपाको साधारण सदस्य पनि नरहेको जसपाले निकालेको विज्ञप्तिमा उल्लेख छ । आफ्नो पार्टीको गण्डकी प्रदेश प्रमुख मोति रिजाल रहेको अधिकारीले बताएका छन् ।
जसपाको गण्डकी प्रदेश समिति अध्यक्ष भन्दै अनिल परियारको नाममा १/०७७।०७८ चलानी नम्बर भएको पत्र पेश भएकोप्रति जसपाले ध्यानाकर्षण भएको जनाएको हो । जेठ २८ मा गुरूङ सरकारलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेको पाइएको जसपाको भनाइ छ ।
हिजो शनिबार परियारले निवर्तमान मुख्यमन्त्री गुरुङलाई पार्टीको समर्थन रहेको भनी प्रदेश प्रमुखलाई पत्र लेखेका थिए । जसपाको यादव पक्षले परियार पार्टीको साधारण सदस्य समेत नरहेको बताउँदै यस्तो फर्की काम नगर्न चेतावनी दिएको छ ।
हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड तथा स्टाम्प बनाएर प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक भएको जसपाको भनाइ छ। जसपा कुनै पनि प्रकारको प्रतिगमनकारी र लोकतन्त्र मास्ने कार्यको विपक्षमा रहने विज्ञप्तिमा उल्लेख छ ।