७ बैशाख २०८१, शुक्रबार

नेपालको खेमा छोडेर ओलीमा आएका गणेश पहाडी सामान्य प्रशासनमन्त्री बन्दै


गणेश पहाडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिन लागेका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार मन्त्रीहरुको आजै सपथग्रहण हुने प्रवल सम्भावना रहेको छ ।

केही साता अघिमात्रै नेकपा एमालेमा माधव नेपालको समूह छोडेर ओली खेमामा लागेका गणेश पहाडी मन्त्री बन्ने भएका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहीबार फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !