६ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चलेन


कर्णाली प्रदेशसभा

कर्णाली । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चल्न सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ ।

उक्त दिनको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कीर्ते जालसाजी सम्बन्धी फौजदारी अभियोग प्रमाणित भइसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त नगरे सदन चल्न नदिने जनाऊ दिएका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले यसबीचमा पटक पटक बैठक स्थगन गर्दै आएका छन् ।

यही जेठ २५ गते सरकार र प्रतिपक्षी दलबीच ३ घण्टा भन्दा लामो वार्ता भयो तर त्यसको टुङ्गो लाग्न नसक्दा प्रदेशसभाको बैठक नै बस्न सकेन । प्रदेशसभा सचिवालयले विशेष कारण देखाएर मङ्गलबारको बैठक पनि जेठ २६ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगनको सूचना टाँसेको थियो ।

आज पनि बैठकको प्रारम्भमै नेता कँडेलले सरकारले राजनीतिक प्रतिशोध, पात्रको भन्दा पनि प्रवृतिका विरुद्ध कुरा उठाइएको भन्दै सरकारले मन्त्री थापाको पदमुक्तको अडान कायम राखे । “हामीले उठाएको विषय समय बर्बादीका लागि नभई सभाको मर्यादा र सबैको मानसम्मान बढाउनका निम्ति हो,” नेता कँडेलले भने, “सदन शुरु हुनु अघि हामीले भनेजस्तै गरेको भए वा परिस्थिति सृजना भएपछि निर्णय लिनुपथ्र्यो तर सरकारले त्यो गर्न सकेन ।”

उनले प्रश्न गर्दै भने, “विषय प्रवेश गराएपछि सरकारको ध्यानाकर्षण त हुनुपर्छ नि ? यो बीचमा हाम्रो माग अनुसार व्यवहारिक ढंगबाट अघि बढेको भए हुन्थ्यो । अहिले मन्त्रालय त देखाउने मात्र हो । सरकार सम्बद्ध १० वटै जिल्लाका नेताहरु सुर्खेतका होटलमा बसेर योजना बनाइरहेका छन् । कार्यान्वयन गर्ने कार्यालयहरु हेरिरहेका छन् । जनप्रतिनिधिहरुको मर्यादा के हो ।’’

सरकारको सदनबाट नीति, कार्यक्रम तथा बजेट ल्याउने नियत नरहेको उहाँले आरोप लगाए । उनले जेठ २५ गते बैठकमा सरकारका तर्फबाट राखिएको प्रस्तावलाई विधिवत निर्णयका रुपमा रुपान्तरित गर्ने कुरामा माग गर्ने दलबाट सहमत भएपनि सरकारले भाग्नुपर्ने नियत किन ? भन्दै प्रश्न गरे ।

बैठकमा उनले केही सञ्चारमाध्यमले थरीथरीका समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै अर्को बाटोबाट बजेट ल्याउन नहुने बताए । बैठक यही जेठ २७ गते दिउँसो २ः०० बजेसम्मका स्थगन भएको सूचना प्रदेश सचिवालयले दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !