३ असार २०८१, सोमबार

खनाल-नेपाल निकट विद्यार्थीद्वारा राजेन्द्र महतोको पुतला दहन


राजेन्द्र महतोको पुतला दहन

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल निकट अनेरास्ववियुका विद्यार्थीले राजधानीमा प्रदर्शन गर्दै उपप्रधानमन्त्री एवं शहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला दहन गरेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका महतोले नेपाल ‘बहुराष्ट्रिय र बहुराज्य’ मुलुक भएको विवादास्पद अभिव्यक्ति दिएपछि खनाल-नेपाल निकट विद्यार्थीले नयाँ बानेश्वरमा आज शनिबार साँझ ६ बजेतिर पुतला दहन गरेका थिए ।

महतोले दिएको विवादास्पद अभिव्यक्तिविरुद्ध राजधानीमा प्रदर्शन गर्दै पुतला दहन गर्ने क्रममा खनाल-नेपाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

नियन्त्रणमा लिइएका सबैलाई प्रहरीले केही घण्टापछि रिहा गरेको छ । निषेधाज्ञा उल्लंघन गरेर सडकमा विरोधका कार्यक्रम गरेकाले प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

खनाल-नेपाल निकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले नेपालको राष्ट्रिय एकता र सर्वभौमिकताविरुद्ध नेपाललाई टुक्राउने अभिव्यक्ति दिएपछि आफूहरू त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएपछि आलोचित बनेका छन् । महतोले पदभार ग्रहण गर्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।

यस्तै शनिबार जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनको भनाई छ ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

मुलुकलाई टुक्राउने अभिव्यक्ति दिएको भन्दा महतोको पुरै देश तथा बिदेशमा रहेका नेपालीले सामाजिक संजालमा चर्को आलोचना गरिरहेका छन् । नेपाल बहुल राज्य हुनुपर्ने महतोको धारणाको विरोध भइरहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !