८ बैशाख २०८१, शनिबार

भाग्यमानी दम्पत्ति : श्रीमान् केन्द्रिय मन्त्री, श्रीमती प्रदेश मन्त्री


शेरबहादुर तामाङ र उषाकला राई

काठमाडौँ । नवनियक्त एवं पुनर्गठित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा आज शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका ८ मन्त्री र २ राज्यमन्त्री गरे १० जनालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् व्यापक रुपमा हेरफेर गरेका हुन् । प्रधानमन्त्री ओलीले एमालेका हाल मन्त्रिपरिषद्मा रहेका ४ मन्त्री बाहेक सबैलाई हटाएका छन् ।

ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको हो । ओली प्रधानमन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने तामाङ पाँचौ मन्त्री हुन् । यसअघि पद्माकुमारी अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल र हृदयश त्रिपाठी स्वास्थ्यमन्त्री भईसकेका छन् ।

तामाङले ओली प्रधानमन्त्री भएलगत्तै कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुको बारेमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिमाथि चर्को आलोचना भएपछि नैतिकताको आधारमा उनले राजीनामा दिएका थिए ।

आफूभन्दा जुनियर नेता उपप्रधानमन्त्री बनाएको भन्दै निवर्तमान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेपछि तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् । बालुवाटार स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री हुने भएपछि त्रिपाठीले आफूलाई मन्त्री पदमा निरन्तरता नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

राजनीतिमा गुट परिवर्तन गर्न सक्यो भने अवसर नै अवसर मिल्ने रहेछ भन्ने नेपाली राजनीतिमा आज सिद्ध भएको छ । कस्तो बिडम्बना ! संसदीय राजनीतिमा मन्त्री बन्नका निम्ति कसैले जीवनभर संघर्ष गर्नुपर्छ । कसैलाई भने बारबार अवसरहरु आइरहन्छन् । कसैलाई अवसरले देख्दै देख्दैन भने कसैका वरिपरि अवसर घुमिरहन्छ । शेरबहादुर तामाङ र उशाकला राई दम्पत्तिले केन्द्र र प्रदेश सरकारमा मन्त्री बन्ने अवसर पाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि एमाले माधव नेपाल समूहमा रहेका तामाङ केही समयअघि पत्नी उशाकला राईसहित ओली समूहमा लागेका हुन् । शुरुमा प्रतिनिधिसभा विघटनको विरुद्धमा भएका सभा र जुलुसमा सहभागी भएको यो जोडी फागुन ८ गते ओली समूहमा फर्किएको थियो।

त्यसपछि नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी पाएका तामाङले महामारीको समयमा महत्वपूर्ण मानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा शुक्रबार शपथ लिँएका छन् ।

तामाङ पत्नी उषाकला राई प्रदेश १ मा सामाजिक विकासमन्त्री छिन् । तामाङ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् भने उषाकला प्रदेश १ प्रदेशसभाकी समानुपातिक सांसद हुन् । यसरी श्रीमान् तामाङ केन्द्रिय मन्त्री र श्रीमती राई प्रदेश मन्त्री हुने भाग्यमानी दम्पत्ति हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !