७ असार २०८१, शुक्रबार

यी हुन् आलोपालो मन्त्री हुने भाग्यमानी श्रीमान्-श्रीमती


रघुवीर महासेठ र जुलीकुमारी महतो

काठमाडौँ । नवनियक्त एवं पुनर्गठित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा आज शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका ८ मन्त्री र २ राज्यमन्त्री गरे १० जनालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् व्यापक रुपमा हेरफेर गरेका हुन् । प्रधानमन्त्री ओलीले एमालेका हाल मन्त्रिपरिषद्मा रहेका ४ मन्त्री बाहेक सबैलाई हटाएका छन् ।

ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन् । यसपटक थपिएका उपप्रधानमन्त्रीमध्ये रघुवीर महासेठका दम्पती नै ओली सरकारमा आलोपालो गरी मन्त्री हुँदै आएका छन् ।

राजनीतिमा गुट परिवर्तन गर्न सक्यो भने अवसर नै अवसर मिल्ने रहेछ भन्ने नेपाली राजनीतिमा आज सिद्ध भएको छ । कस्तो बिडम्बना ! संसदीय राजनीतिमा मन्त्री बन्नका निम्ति कसैले जीवनभर संघर्ष गर्नुपर्छ ।

कसैलाई भने बारबार अवसरहरु आइरहन्छन् । कसैलाई अवसरले देख्दै देख्दैन भने कसैका वरिपरि अवसर घुमिरहन्छ । नेता रघुवीर महासेठ र जुलीकुमारी महतो दम्पत्तिले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा आलोपालो मन्त्री बन्ने अवसर पाएका छन् ।

ओलीले २०७४ सालमा प्रधानमन्त्रीको शपथ लिएपछि महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा मन्त्रिपरिषद्मा सहभागी भएका थिए । उनी २०७४ फागुनदेखि २०७६ मंसिरसम्म २० महिनासम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रीवाट बाहिरिएपछि १ वर्ष जारी रहेको तत्कालीन नेकपाको विवादमा महासेठ कहिले प्रचण्ड-नेपाल समूहतिर लागे त कहिले ओली समूहतिर ।

२०७७ साल पुस ५ गते प्रधानमन्त्री ओलीले एकलौटी रूपमा संसद् विघटन गर्ने निर्णय लिएसँगै मन्त्रिपरिषद्मा रहेका माधव नेपाल पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहका मन्त्रीहरूले राजीनामा दिएपछि उनी प्रचण्ड-नेपाल खेमातिर लागेर कार्की बैंक्वेटको भेलासम्म पुगेका थिए ।

तर लगत्तै पुस १० गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा महासेठकी श्रीमती जुलीकुमारी महतो मन्त्री बनिन् । यसलाई धेरैले यी दम्पतिको बार्गेनिङका रुपमा व्याख्या पनि गरे । जुलीकुमारी महतो २०७७ पुसदेखि २०७८ जेठसम्म महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री भइन् ।

२०७६ मंसिर मन्त्रीबाट हटाइएपछि ओलीसँग रिसाएका महासेठ श्रीमती महतो मन्त्री बनेपछि फेरि ओली क्याम्पमा नै फर्किए । ओली मन्त्रिपरिषद्बाट महतो बाहिरिएपछि महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीसहित फर्किएका छन् ।

हाल मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले श्रीमान् महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिँदा श्रीमती महतो बाहिरिएकी छन् । यसरी ओलीको मन्त्रिपरिषद्मा महासेठ र महतो आलोपालो मन्त्री हुने श्रीमान्-श्रीमती हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !