६ जेष्ठ २०८१, आइतबार

जसपाबाट ५ जनाले आजै मन्त्री पदको शपथ लिने : राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकासमन्त्री


राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निश्चित जस्तै भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी रहेको छ ।

जसपाको महन्थ ठाकुर पक्षका ५ जना नेताले आज मन्त्री पदको शपथ लिने तयारी गरेका छन् । जसपा स्रोतले दिएको जानकारी अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा आज ५ जनाले मन्त्री पदको शपथ लिने तयारी भएको हो ।

महतो उपप्रधानमन्त्री सहित शहरी विकासमन्त्री, शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, अनिलकुमार झाले शहरी विकास मन्त्री, विमल श्रीवास्तवले खानेपानी मन्त्री तथा उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्री हुने लगभग टुंगो लागेको छ ।

श्रीवास्तव र अरगरिया उपेन्द्र यादवको साथ छाडेर ठाकुर खेमामा आएका हुन् । उनीहरूले लो प्रोफाइलको मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार दुवैले शपथ नलिने अडान कायम राखेकाले नेताहरूले मनाउने प्रयास गरिरहेका छन् । उनीहरूसहित पाँचै जनाले आजै शपथ लिने महन्थ पक्षको विश्वास छ ।

राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । त्यस्तै दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ । तर मन्त्रालयम भने हेरफेर हुन सक्ने जसपाका नेताहरुको भनाइ छ ।

तर महतोले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय मागेको पनि बुझिएको छ । गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि लागी परेका छन् ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय जसपाको ठाकुर पक्षले लिएको बताइएको छ । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चित प्रायः छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !