७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री ओली र महन्थ ठाकुरवीच भेटवार्ता, आजै मन्त्रीको नाम टुंगो लगाउने


केपी शर्मा ओली र महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीवीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेपछि भेटवार्ता शुरु भएको हो । हिजो विहीवार राति अबेरसम्म जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री अ‍ोलीवीच बालुवाटारमा वार्ता भएको थियो ।

जसपाको महन्थ ठाकुर पक्षले पार्टीभित्र नयाँ मन्त्रीहरु बन्नेको नाममा सहमति जुटे प्रधानमन्त्री ओलीले आजै जसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् । जसपा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।

जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा विस्तार र हेरफेर गर्ने भएका छन् । अहिले प्रधानमन्त्री ओलीले नयाँ बन्न लागेको मन्त्रिपरिषद्को बारेमा पार्टीका मुख्य नेताहरुसँग कसरी समायोजन गर्ने भन्ने बारेमा समेत छलफल गर्दैछन् ।

जसपावाट ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित १० जना ओली नेतृत्वको सरकारमा सहभागी हुनेछन् । आज शुक्रबार भएकोले आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने प्रवल सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ किनकी प्रधानमन्त्री ओली प्राय:जसो शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्ने गरेका छन् ।

जसपा नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुको भनाइ छ ।

मन्त्रीहरुको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, उमाशंकर अगरिया, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा.सुरेन्द्र झा, उमाकान्त झा लगायतका रहेका छन् ।

गैर सांसद पनि मन्त्री बन्न पाउने प्रावधान भएकाले मन्त्रीको आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि लागी परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !