२३ पुस २०८१, मंगलबार

वाह्य शक्तिको भक्तिधुप आधा दिन पनि टिकेन : भीम रावल

राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारलाई भीम रावलले गरे यत्तिसम्म कटाक्ष


भीम रावल, सूर्य थापा र टिका ढकाल

काठमाडौँ । नेकपा एमालेको कारबाहीमा परेका नेता भीम रावलले सामाजिक संजाल ट्वीटरमा लेख्दै राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीटप्रति कटाक्ष गरेका छन् ।

रावलले अमेरिकाले नेपालसमेत १६ देशलाई ७० लाख खोप दिने भन्नासाथ नेपालले ५० लाख पाउने भन्दै राज्यको उच्च तहमा रहेका केहीले हतारमा ‘सफलता’ र प्रशंसाको ढवांग फुक्नु वाह्य शक्तिको भक्तिमा बानी परेको परिचायक भएको आरोप लगाएका छन् ।

उनले यस्तो भक्तिधुप आधा दिन नटिकेको बताउदै यो कूटनीतिबाट राष्ट्रिय स्वाभिमान झिक्दाको परिणाम भएको स्पष्ट पारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ ढकाल र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले आफ्नो ट्वीट डिलेट गरेपछि रावलको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले २ करोड ५० लाख डोज कोरोना भाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै राष्ट्रपतिका विज्ञले सामाजिक सञ्जाल ट्वीटरमा नेपाललाई ५० लाख डोज खोप आउन लागेको कुरा लेखे ।

तर उनले उक्त ट्वीट डिलेट गरिसकेका छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पनि ५० लाखको डोज आउन लागेको कुरा लेखेको उनले पनि डिलिट गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !