७ मंसिर २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक फेरि अचानक स्थगित


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आजु दिउसो ४ बजेको लागि बोलाइएको स्थायी कमिटीको बैठक फेरि अचानक स्थगित भएको छ ।

पार्टीका नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि दिउसो ४ बजे बस्ने गरी स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए ।

आज बस्ने भनिएको बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचन लगायतका विषयमा छलफल हुने तयारी थियो ।

हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल समूहका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।

माधव नेपाल, भीम रावल लगाायतका नेताहरु भने एमालेमा नफर्किने एमाले नेताहरुले निष्कर्ष निकालेका छन् । एकताका लागि वार्तामा रहेका नेताहरुलाई माधव नेपाल समूहबाटै दबाब बढेपछि आज ठोस प्रगति नभएकाले बैठक भोलिसम्मलाई स्थगित गरिएको स्रोतले बताएको छ ।

हिजो मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेकपा एमालेले अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

हिजो बसेको बैठकमा पार्टी एकता बचाउन भई रहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको थियो ।

आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन् । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन् ।

नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ । सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !