७ मंसिर २०८१, शुक्रबार

८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष ओली सरकारमा जाने तयारी


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबीच छलफल जारी रहेको छ । जसपाले कति कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रित हुने बुझिएको छ ।

बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी जारी रहेको बताइएको छ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् ।

जसपा ठाकुर स्रोतका अनुसार ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । आज ओली ठाकुर जारी बैठकमा मन्त्रालय बाँडफाँटमा छलफल केन्द्रित भएको बुझिएको छ ।

प्रधानमन्त्री अ‍ोलीले जसपालाई पाँच मन्त्री र दुई राज्यमन्त्री दिने भनेपनि जसपा ठाकुर पक्षले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेकोले ओली यो विषयमा लचक भई सहमति नजिक पुगेका हुन् । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने जनाइएको छ ।

जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको जसपा ठाकुर पक्षको भनाई छ । ८ मन्त्री र दुई राज्यमन्त्री पाउने गरी जसपाको ठाकुर पक्ष ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी हुने तयारीमा लागेको छ ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय लिएको बताइएको छ । जसपाको संसदीय दलमा ठाकुर-महतो पक्षको बहुमत छ । विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन् ।

स्रोतका अनुसार जसपाका अन्य मागको बारेमा पनि छलफल भई रहेको बुझिएको छ । नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग ओलीले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने तयारी गरेको स्रोतको भनाई छ ।

जसपामा एक पक्षले अर्को पक्षलाई कारवाहीको तयारी भइरहेकै बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल भई रहेको छ । महन्थ ठाकुरपक्षको राजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव भने विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्ने पक्षमा छन् ।

कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको थियो । आइतबारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरु बताउँछन् ।

यस्तै जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्दै पार्टी विभाजनको संकेत गर्दै आ-आफ्नो बाटो लाग्न आग्रह गरेका छन् । डा. भट्टराईले पार्टी फुटको संकेत गर्दै समयले नयाँ ध्रुवीकरण खोजेको बताएका हुन् । उनले नयाँ निर्माणका निम्ति पुरानो भत्कनु पर्ने भन्दै मान्छे तानातानमा नलाग्न आग्रह समेत गरेका छन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो’, बाबुरामले ट्वीटमा लेखेका छन्, ‘नयॉ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दैछ । अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासंग हुन दिऊॅ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !