५ जेष्ठ २०८१, शनिबार

नेपाल समूहका ४ जना निवर्तमान सांसदले मानेनन् देउवाको पक्षमा हस्ताक्षर गर्न


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल समूहका ४ जना पूर्व सांसदहरु गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहितको रिटमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

तर हिजो आइतवार हस्ताक्षर गर्न अस्वीकार गरेका सुरेन्द्र पाण्डेले भने आज सोमवार हस्ताक्षर गरेका छन् । हिजो आइतवार २१ जना सांसदले हस्ताक्षर गरेका थिए भने आज सोमवार नारायण खतिवडा र दीपकप्रकाश भट्टले हस्ताक्षर गरेर २३ जना पुगेका हुन् ।

विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् । नेपाल समूहका नेता सोमप्रसाद पाण्डेले सदस्यहरू हस्ताक्षर गर्न आउने क्रम जारी रहेको बताएका छन् ।

विपक्षी गठबन्धनले संविधानको धारा ७६(५) को प्रधानमन्त्री दाबीमा पेश गरिएका १४९ जनाको हस्ताक्षर सदर गर्नुपर्ने तथा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले आज सोमवार सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !