११ मंसिर २०८१, मंगलबार

ओलीद्वारा १५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी (जसपा) का गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका छन् ।

वर्तमान प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी गरेको उनका मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

सो दाबीपत्रमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गरेका समेत रिमालले जनाकारी दिएका छन् ।

 

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई १४९ जना बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासतर्फ पुगेका छन् ।

कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेसका एक सांसदका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !