भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आउनुभएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति हुनुभएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आउनुभएको थियो । उहाँले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित हुनुभएको थियो ।
विसं १९९२ जेठ १० गते नखेल, शान्तिगाउँमा जन्मनुभएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय हुनुहन्थ्यो । भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उहाँले योगदान दिनुभएको छ ।
भक्तपुरबाट १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पु¥याउनुभएको पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताउनुभयो ।
जनजागरण निबन्धसंग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथासंग्रह र किशोर निबन्धसंग्रह), ए बाउ घर छोडी जाऊ (गीतिकवितासंग्रह), हामी अब गर्छौँ (लघुकाव्य), परिवर्तित पाइला(नाटक), खुलाल खत्रीको खोज(अनुसन्धानात्मक पुस्तक)लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उहाँका विभिन्न विधाका १४ कृति प्रकाशित छन् ।
सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आउनुभएका खत्रीलाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मानसमेत गरेका थिए । उहाँका चार छोरा र तीन छोरी हुनुहुन्छ ।
—