१३ बैशाख २०८१, बिहिबार

केपी शर्मा ओली ४२ औँ प्रधानमन्त्रीमा नियुक्त


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई नेपालको ४२ औं प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । देशमा भएको लामाे राजनीतिक रस्साकस्सीपछि ओली नै पुन: तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले केहि समयअघि एक बिज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले बहुमतको सरकारका लागि दाबी पेश गर्न दिएको समयसीमाभित्र कसैबाट पनि दाबी पेश नभएको स्पष्टोक्ति दिएका थिए ।

भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेताको हैसियतले ओलीले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार भोलि शुक्रबार भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराउने छिन् । ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । शीतलनिवास स्रोतले पनि सपथ कार्यक्रम भने थप तयारी गर्नुपर्ने भन्दै भोलि शुक्रबार साढे २ बजेलाई राखिएको बताएकाे छ ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ नत्र धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । सो प्रयास पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जाने निश्चित छ ।

राष्ट्रपतिद्वारा केपी शर्मा ओलीलाई ४२ औँ प्रधानमन्त्री नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !