काठमाडौं । अन्तत: नेकपा एमालेका अध्यक्ष समेत रहेका कार्यबाहक प्रधानमन्त्री केपी शर्मा ओलीको पद जोगिएको छ । बिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएसंगै ओली नै फेरि प्रधानमन्त्री हुने भएका हुन् ।
नेकपा एमालेको माधवनेपाल समूहका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निष्कर्षमा पुगेका हुन् । जसपाको महन्थ ठाकुर पक्षले नयाँ सत्ता समीकरणमा सामेल नहुने र एमालेको नेपाल समूहका सांसदहरुले राजीनामा नदिएपछि देउवालाई बहुमतीय प्रधानमन्त्री बन्ने संख्या नपुगेको हो ।
एमालेका अध्यक्ष ओली र बरिष्ठ नेता नेपालको कुरा मिलेर सहमति नजिक पुगेसंगै नेपाल समूहका सांसदहरुले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । वार्तापछि बाहिरिने क्रममा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा २/४ दिनको लागि टरेको बताउदै पार्टीको आन्तरिक विवाद कार्यदल बनाएर समाधान गरिने प्रष्ट पारेका छन् ।
यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।
जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन् । बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो ।