१ मंसिर २०८१, शनिबार

प्रचण्डले देउवालाई भेटेलगत्तै बोलाए आकस्मिक स्थायी समिति बैठक


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता माओवादीका एक नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै पार्टी स्थायी समिति बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन् । बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो ।

बहुमतीय सरकार बन्ने सम्भावना न्यून भएपछि प्रचण्ड निराश भएर बूढानीलकण्ठवाट फर्किएका थिए । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस लगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेतापनि जसपको महन्थ ठाकुर र एमालेको माधव नेपाल समूहले साथ दिने सम्भावना देखिदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !