१३ बैशाख २०८१, बिहिबार

ओलीका दूत बनेर पौडेल एकाविहानै नेपाल निवासमा कोटेश्वरमा पुगेपछि…


विष्णुप्रसाद पौडेल

काठमाडौं । व्यक्तिगत स्वार्थ र शक्ति संघर्षको कारण विभाजनको नजिक पुगेको सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विभाजन रोक्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका दूत बनेर अर्थमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेल एकाविहानै अर्का असन्तुष्ट नेता माधव नेपालको निवासमा कोटेश्वरमा पुगेका छन् ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गरिरहेका छन् भने भने नेकपाको ओली समूह नयाँ सरकार बनाउन लागेका दलहरुको प्रयास असफल बनाउन खोजिरहेको छ । यसबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बाक्लिएको छ ।

ओली नेतृत्वमा रहेको सरकारले संसदवाट विश्वासको मत हासिल गर्न असफल भएपछि सुरु भएको नयाँ सरकार गठन प्रक्रियामा नेकपा एमालेकै माधव नेपाल समूह निर्णायक बनेर तालाचावी बोकेर बसेको छ । नेपाल समूहले सांसद पदबाट राजीनामा दिए काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको छ ।

तर नेपाल समूहले राजीनामा नदिएमा ओलीको नेतृत्वमा नै अल्पमतको सरकार बन्नेछ । नेपाल समूहले राजीनामा दिने सम्भावना बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली समूह राजीनामा रोक्न हरसम्भव प्रयत्नरत छन् । यसैले उनले आफ्ना विश्वापात्र विष्णु पौडेललाई एकाविहानै नेपाललाई भेट्न कोटेश्वर पठाएका हुन् ।

नेपाललाई हिजो बुधवार राति अ‍ोलीले टेलिफोनमा कुरा गर्न खोजेपनि नेपालले फोन नउठाएपछि आज विहानै ओलीको तर्फबाट वार्ता गर्न पौडेल माधव नेपाल निवास पुगेका हुन् । नेपाल समूहमा राजीनामा दिने सांसदको संख्या अन्तिममा १६ जना पनि नपुग्ने अवस्था देखिएपछि उनी दवावमा छन् ।

पौडेलमार्फत ओलीले नेपाल समूहलाई फकाएर राजीनामा नदिन आग्रह गरेका छन् । नेपाल-पौडेलको भेटमा बरिष्ठ नेता नेपालले पार्टीलाई पुरानो अवस्थामा नफर्काएसम्म ओलीको सती जान नसकिने प्रतिक्रिया दिएका थिए । यसबीच अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !