१० असार २०८१, सोमबार

अन्तत: एमाले विभाजन : २० जना भन्दा केही बढी सांसदले राजीनामा पत्रमा गरे हस्ताक्षर


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौँ । अन्तत: सत्तारुढ दल नेकपा एमालेका केपी शर्मा ओली र माधव नेपाल समूह पूर्व र पश्चिम जस्तो देखिएकोले एमाले विभाजनको संघारमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । विशेष सुत्रका अनुसार नेपाल समूहका २० जना भन्दा केही बढी सांसदले राजीनामापत्र हस्ताक्षर गरेर आफ्ना नेता माधव नेपाललाई बुझाएको जानकारी प्राप्त भएको छ ।

एमालेको नेपाल समूहले अध्यक्ष ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन भोलि साँझसम्मको २४ घण्टे अल्टिमेटम दिएको छ । नत्र भने नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भनेर राजीनामा पत्र तयारी अवस्थामा राखेका छन् ।

नाम नबताउने सर्तमा नेपाल समूहका एक सांसदका अनुसार कुनै चमत्कारिक शक्तिले जोगाएर रातभरि अन्यथा भएन भने भोलिबाट पूर्व सांसद भइने निराशावादी धारणा समेत व्यक्त गरेका छन् ।

आज शनिबार राजधानीमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गर्दै ओली पार्टी एकताका लागि तयार नभएको निष्कर्ष निकालेको हो । तर आज बसेको बैठकले भोलि आइतबार साँझसम्म ओलीलाई समय दिएर पर्खने सहमति गरेको हो ।

आजको बैठकले ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको हो । तर यसबारेमा स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गर्ने बुझिएको छ । वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यो समय भन्दा अघि नै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको हो ।

एमालेका शीर्ष नेताहरुमा बढेको चरम शक्तिसंघर्षले एमाले पार्टी अचानो बन्दै बिग्रह र बिनासको बाटोउन्मुख भएको हो । एमालेको विभाजन हुन रोक्ने प्रयास असफल भएपछि नेपाल समूहका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने भएका हुन् ।

धेरै उतार-चढावका बाबजूद यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस-माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि ओली सरकार ढाल्ने सम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको नेपाल समूहले निष्कर्ष निकालेको हो ।

नेपाल समूहका सांसदलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गरेर कमजोर बनाउने कि सत्ता टिकाएर पार्टी एकता जोगाउने भन्ने दुबिधा चरम सीमामा पुगेपछि अन्तत: माधव समूहका २० जना भन्दा केही बढी सांसदले आज राती प्रतिनिधिसभा सदस्य राजीनामाको लिखतमा हस्ताक्षर गरेर आफ्ना नेता नेपाललाई बुझाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !