काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । आज शुक्रबार एयर इण्डियाको उडानबाट उनीसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् ।
नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । दूतावासले ती भीआइपीहरु को-को हुन् थाहा नभएको बताएपनि दूतावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए ।
भट्नागर शुक्रबार लाजिम्पाटस्थित होटल र्याडिसनमा बसेको बुझिएको छ । यसअघिका रअ नेपाल स्टेशन प्रमुख अभिजित अल्दरको ३ वर्षे कार्यकाल सकिएपछि उनलाई विस्थापन गर्न भट्नागर काठमाडौं आएका हुन् ।
उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । नेपालमा राजनीतिक उथलपुथल भइरहेका बेला भारतीय गुप्तचर एजेन्सीका नेपाल प्रमुखको काठमाडौँमा आगमन भएको हो ।
यसअघि रअ प्रमुख सामन्त कुमार गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि नै नेपाल र भारतबीचको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको थियो भने राजनीतिक रुपमा पनि उथलपुथल भइरहेको छ ।
यसरी ‘रअ’ का नेपाल प्रमुख भट्नागर काठमाडौँ आएसँगै देशको राजनीतिक संकटले कोल्टे फेर्ने संकेत देखिएको छ ।