७ बैशाख २०८१, शुक्रबार

शीतल निवासमा राष्ट्रपतिलाई साक्षी राखेर ओली र नेपालबीच सहमतिको संकेत


केपी ओली, विद्यादेवी भण्डारी र माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय देखिएकी छन् । हिजो विहीवार मध्यरातिसम्म उनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालसँग छलफल गरेकी छन् ।

निर्णायक भनिएको छलफल हिजो राति १२ बजेसम्म चलेको थियो । शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री ओली पनि शीतल निवास पुगेको एमाले स्रोतले बताएको छ ।

राष्ट्रपति भण्डारीलाई साक्षी राखेर दुवै नेताबीच ‘भद्र सहमति’ भएको बताइए तापनि के विषयमा सहमति भयो भन्ने अहिलेसम्म खुलासा भएको छैन । नेता नेपालले ओलीबाट कारवाही नहुने ग्यारेन्टी राष्ट्रपतिको उपस्थितिमै चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको स्रोतले जनाएको छ ।

विगत लामो समयदेखि एक अर्कालाई सिध्याउने खेलमा लागेका नेकपा एमालेका दुई नेताहरु ओली र नेपालबीचमा अन्ततः विवाद नबढाउने भद्र सहमति आंकलन सम्म गर्न सकिन्छ । नेपाल निकट स्रोतका अनुसार उनले यसबारेमा आफू निकटस्थ केही एमाले नेतालाई जानकारी पनि गराएको बुझिएको छ ।

राष्ट्रपति भण्डारीलाई साक्षी राखेर दुई नेताबीच पार्टी अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि भएको कारवाही फिर्ता लिने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने सहमति भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

नेता नेपाल निकट स्रोतका अनुसार बिहीबार राष्ट्रपति भण्डारीले माधव नेपाललाई भेट्न बोलाएपछि नेता नेपाल साँझ ७ बजे शितल निवास प्रवेश गरेका थिए । नेता नेपाल र राष्ट्रपतिबीच छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओली पनि शितल निवास पुगेपछि राष्ट्रपतिलाई साक्षी राखेर दुई नेताबीच पार्टीको आन्तरिक विवाद अन्त्य गर्ने बारेमा सहमति भएको हुनसक्छ ।

स्रोतका अनुसार वैशाख २७ अगाडि नै नेता नेपालसहितका नेतामाथि गरिएको कारवाही फिर्ता लिन ओली सहमत भएपछि अब बस्ने संसदीय दलको बैठकमा नेपाल समूहका सांसद सहभागी भएर महाधिवेशन आयोजक कमिटीको बैठक र स्थायी कमिटीको बैठकमा नेपालसहिका उनको समूहका नेता सहभागी हुने सहमति भएको हुन सक्छ ।

नेपाल समूहमाथिको कारवाही फिर्ता लिने सहमति भएर आफूहरु माथिको कारवाही फिर्ता लिन ओली तयारी भएपछि वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नेपाल तयार भएको हुन सक्ने विश्लेषण गर्न सकिन्छ ।

नेकपा एमालेलाई कानुनी रुपमा विभाजनबाट रोक्न दुवै पक्षका दोस्रो तहका युवा नेता सक्रिय थिए । माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले दुवै समूहका शीर्ष नेतालाई भेटेर एकताको पक्षमा दबाव दिएका थिए भने ओली समूहबाट बिष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र विशाल भट्टराईले एकताको पक्षमा भूमिका निर्वाह गरेका थिए ।

स्रोतका अनुसार दुवै पक्षका नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्रको विवाद समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । राष्ट्रपतिले पार्टीको विवादमा आफूलाई प्रवेश नगराउन आग्रह गरेपनि नेताहरुले अन्तिम पटक पार्टी एकताको लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेपछि बिहीबारको भेटवार्ता सम्भव भएको हो ।

राष्ट्रपतिले ओली र नेपालसँग विहीवार अलग-अलग छलफल समेत गरेकी थिइन् । एमालेका एक नेताका अनुसार मध्यरातिसम्म शीतल निवासमा भएको छलफलले नयाँ घटनाक्रमतर्फ अघि बढाएको छ । अहिले प्रधानमन्त्री ओली आन्तरिक छलफलमा भएकोले चाडैं सुखद समाचार एमालेका नेता कार्यकर्ताहरुले सुन्न पाउने शुभ संकेत देखिएको छ ।

काठमाडौँको नक्सालस्थित अहिले चर्चाको शिखरमा रहेको होटल म्यारियटमा नेकपा एमालेका दुई समानान्तर ओली र नेपाल समूहका नेताहरुवीच हिजो छलफल भएको थियो । यसले गर्दा विभाजनको सघारमा पुगेको नेकपा एमालेका नेता र कार्यकर्तामा झिनो आशाको दियो बलेको छ ।

बुधबार मात्र एमालेका महासचीव समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल समूहका नेताहरु योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए । भेटमा भट्टराई र पहाडीले व्यक्तिगत रूपमा भन्दा पनि सामुहिक रुपमा पार्टी एकता खोज्न सुझाव दिएका थिए ।

खनाल-नेपाल समूहले आफ्ना प्रत्यक्ष निर्वाचित सांसदलाई सामुहिक राजीनामा गराएर भएपनि ओलीलाई सरकारवाट हटाउने चेतावनी दिनुको साथै माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओलोको मनोवल कमजोर भएर उनले खनाल-नेपाल समूहका केहि यूवा जुझारु नेताहरुसँग छलफल र भेटघाटलाई तिब्रता दिन आफ्ना समूहका नेताहरुलाई सक्रिय बनाएका छन् ।

हिजो बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बहुप्रतिक्षित मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएतापनि किन कुनै निर्णय गर्न सकेन भन्ने जिज्ञाषा बढेको छ । सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजको बैठक नियमित बैठक भएकोले त्यस्तो कुनै निर्णय नगरेको बताएतापनि यसभित्र लुकेको अन्तर्य अर्कै हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली कारवाही फिर्ता गर्न लचक भएपनि फागुन २८ का सबै निर्णयबाट पछि हट्न भने चाहेका छैनन् । नेपाल समूह फागुन २३ पछि ओलीले एकपक्षीय गरेका सबै निर्णय रद्द गर्नुपर्ने पक्षमा छ ।

नेकपा एमालेमा अध्यक्ष समेत रहेका केपी शर्मा ओली समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधव नेपालसहित ४ जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको थियो ।

यद्यपि कारवाही फिर्ताको निर्णय भने भइ सकेको छैन । एमाले अध्यक्ष ओली समूहले ४ नेताहरुलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए । एमालेमा देखिएको विवाद मिलाउन र पार्टी एकता जोगाउन ओली र नेपाल समूहका नेताबीच हिजो बिहीबार छलफल हुनु सकारात्मक हो ।

व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेर पार्टी विनाशको बाटोतिर लागिरहेको बेला कुनै चमत्कारिक शक्तिले गर्दा फेरि सद्बुद्धि आएको त होइन भन्ने जस्ता विश्लेषण हुन थालेको छ । यसले गर्दा विभाजनको सघारमा पुगेको नेकपा एमालेका नेता र कार्यकर्तामा झिनो आशाको दियो बलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !