४ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले विश्वासको मत दिन गरेको आग्रह कांग्रेसद्वारा अस्वीकार


ओली पुगे देउवा निवास

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओली कांग्रेसका सभापति देउवा निवास बुढानीलकण्ठ पुगेर कांग्रेसका विश्वासको मत मागेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेपनि कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्दै सो प्रस्तावलाई अस्वीकार गरेका थिए ।

आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेकाले ‘मिलेर जान’ प्रस्ताव गरेका थिए ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवा निवास पुगेका हुन् ।

कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

प्रधानमन्त्री ओली कांग्रेसका सभापति देउवालाई फकाउन एमाले नेताहरूसहित बुढानिलकण्ठ पुगेका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री भएपछि ओली आफैं गुहार माग्दै ओली देउवाको शरणमा पहिलो पटक पुगेका हुन् ।

स्रोतका अनुसार राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै ओली देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । कांग्रेस नेताहरूले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिएको भन्दै लोकतन्त्र संकटमा पर्ने काम ओली सरकारबाटै भएको दावी गरेका थिए ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग गहन छलफल गरिरहेको छ । यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो ।

हिजो मंगलबार साँझ देउवा, प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादवबीच छलफल भएको थियो । विश्वासको मत लिने निर्णयमा पुगेका ओली यी ४ नेताको छलफलबाट त्रसित भएका छन् ।

राष्ट्रियसभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएर चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओली देउवाको शरणमा पुगेका हुन् । जेठ ६ गते हुन लागेको वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको तयारी छ । बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु