१२ असार २०८१, बुधबार

गण्डकीमा काँग्रेसलाई ‘पहिलो गाँसमै ढुंगा’ : आफ्नो पक्षमा मतदान गर्ने भनेका दुई सांसद नै बेपत्ता


खिमविक्रम शाही र दिपक मनाङे

पोखरा । गण्डकी प्रदेशसभाको जारी वैठकमा २ जना सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री बन्ने ठुलो सपना देखेका गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली ‘पहिलो गाँसमा ढुंगा’ भनेजस्तै ठुलो धक्का लागेको छ ।

कांग्रेस-माओवादी सहितका दलले पेश गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन स्वतनत्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका हुन् ।

उनीहरुले फोन पनि स्वीचअफ गरेपछि विश्वास प्रस्तावका पक्षधरहरु सशंकित बनेका छन् । स्रोतका अनुसार कांग्रेस, जनमोर्चा र जसपाका सांसदले गाडी लिएर शाहीलाई खोज्न हिँडेपनि कतै नभटेपछि उनीहरु लखतरान भएर फर्किएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजे सुरु हुने बैठकमा मतदान गर्ने कार्यसूची छ । मतदानका बेलासम्म उनीहरु उपस्थित नभए मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार जोगिने छ ।

अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी २८ सांसदले हस्ताक्षर गरिसकेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार ढाल्न ३१ मत आवश्यक पर्छ । हाल सरकारमा रहेको सत्तारुढ पार्टी नेकपा एमालेसँग २७ सिट मात्र छ ।

अविश्वास प्रस्तावका पक्षधरले जनमोर्चाको समर्थनको आशा गरेका थिए । अब जनमोर्चाका दुवैजनाले मत दिए पनि अविश्वास प्रस्ताव पारित हुने सम्भावना कम छ । अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।

यस्तो अवस्थामा जनमोर्चाले शाहीलाई कारबाही गरेपनि उनलाई मन्त्री पदको चिट्ठा पर्ने संकेत पनि देखिएको छ । यस्तै स्वतन्त्र संसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित भएकोले उनको पनि पहिलोपटक मन्त्री बन्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !