१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओली भन्छन्, ‘सबै मिलेर आए हुन्छ, एमाले एक्लै चुनाव लड्छ’


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पार्टी मिलेर एमालेविरुद्ध चुनाव लड्ने बताएको २ दिनपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

काठमाडौंमा आज सोमबार भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले भने, ‘प्रचण्डजीले कहिले कहिले साँचो कुरा गर्नुहुन्छ, एक्लै त कसैले नचिताए हुन्छ । नचिहाए पनि हुन्छ । एमाले एक्लै चुनाव लड्छ । देशभरीका जनता एकजुट होऔं, देशभरीका प्रतिक्रियावादीहरु पनि एकजुट भएर आऊ ।’

प्रधानमन्त्री ओलीले एमाले जालझेल, तिकडम गरेर सरकारमा नगएको स्मरण गराए । ‘पहिलोपटक सरकारबाट हटाउँदा मैले भनेको थिएँ कि, हामी जस्केलाबाट होइन, राजमार्गबाट आउँछौं, फेरि पनि भन्छु एमाले जालझेल गरेर सरकारमा आएको होइन,’ उनले बताए ।

प्रधानमन्त्री ओलीले सभामुखले संविधान र कानुनविपरीत काम गरेको जिकिर गरे । अधिवेशनको पहिलो दिनमै पेस गर्नुपर्ने अध्यादेश सभामुखले रोकेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले एमसीसी सम्झौता निर्णायार्थ पेस नगरेर कानुन मिचेको उल्लेख गरे । उनले भने, ‘संविधानको, कानुनको मतलब छैन । कांग्रेस किन बोल्दैन ? मुखमा पानी हालेर बसेको छ ।’

साथै प्रधानमन्त्री ओलीले जनता र पार्टीविरुद्धका गतिविधि सहन नसकिने बताएका छन् । उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता र पार्टीविरुद्ध नलाग्न माधव गुटलाई चेतावनी दिए । प्रधानमन्त्री ओलीले भने, ‘सहने पनि एउटा हद हुन्छ, मविरुद्ध जेजे गर्नुस्, तर पार्टी र जनताविरुद्ध ज्यादती गरेको म सहन्नँ ।’

जनता र पार्टीविरुद्धका गतिविधि रोकेर पार्टीमा फर्कन उहाँले माधव नेपाललाई आग्रह गरे । पार्टीमा बसेर आफूलाई जति कटाक्ष गरेपनि फरक नपर्ने तर पार्टी विरोधी गतिविधि गरे माधवलाई ठीक पार्ने पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘अहिले पनि माधवजी पार्टी विरोधी काम गर्दै हुनुहुन्छ, म यसको सीमा हेरिरहेको छु ।’

माधव नेपालले गल्ती स्वीकारेर आए अझै पनि पार्टीमा ठाँउ भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘आफ्नै पार्टी सम्झेर आउनुस्, गल्ती स्वीकारेर आउनुस,पूरै जिम्मेवारी दिन्छौं, पार्टी फुटाएर गएको चोइटोलाई पार्टी स्वीकार गर्न सकिन्न ।’ उहाँले भने, ‘माधवजी पार्टीमा आए हामी स्वागत गर्छौं, तर पार्टीलाई ध्वस्त गर्ने काम भने गर्न पाईंदैन, गुटबन्दी गर्न पाईंदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !