८ बैशाख २०८१, शनिबार

बादल र लेखराज भट्टको मन्त्री पद जाने पक्का


राम बहादुर थापा र लेखराज भट्ट

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका ४ जना मन्त्रीको सांसद पद च्वाट भएको छ । यद्यपि शुरुमा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्री हटाउने भनेपनि ४ जना मन्त्रीलाई मात्र सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय लिएका ती मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय पार्टीले गरेको राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले बताए ।

माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सांसद पद खोसिएको संसद् सचिवालयलाई पत्राचार समेत गरेको छ ।

कारबाहीमा परेका भट्ट, रामयमाझी, साह र चौधरी प्रतिनिधिसभाका सदस्य हुन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई फागुन २८ मा केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । सांसद नरहेका खानेपानीमन्त्री मणिचन्द्र थापा र खेलकुदमन्त्री दावा लामालाई पनि माओवादी केन्द्रले कारबाही गरेको छ ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुनेछन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पदसमेत जाने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !