५ जेष्ठ २०८१, शनिबार

सर्वोच्च‍मा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ जारी


सर्वोच्च अदालत, माधव नेपाल, डा. बाबुराम भट्टराई र ललिता निवास

काठमाडौं । काठमाडौँको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च‍ अदालतमा आज सोमबार पुनः पेशी चढेसँगै सुनुवाई जारी रहेको छ ।

यसअघि पेशीमा चढेर स्थगित रहेको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सोमबार मुद्दाको पेशी एक नम्बरमा राखेर सुनुवाई भइरहेको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै २०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्धा चलाएको थियो । नेपाल र भट्टराई प्रधानमन्त्री भएका बखत ललिता निवासको जग्गा व्यक्तिको नाममा भएपछि दुवैविरुद्व पनि मुद्दा चलाउन माग गरिएको थियो ।

२०६६ सालमा नेपाल र २०६९ सालमा भट्टराई प्रधानमन्त्री भएको समयमा बालुवाटारको ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा रुपान्तरण गरिएको थियो । आयोगले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !