काठमाडौं । नेकपा एमालेको संगठन यूवा संघलाई टक्कर दिन नेकपा माओवादी केन्द्रले १ लाख ६५ हजार युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) सदस्यता थप्ने निर्णय गरेको छ । गत चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रिय समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।
यस्तै वाईसीएलले २०७८ साल जेठ २८ देखि ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको जानकारी दिएको छ । राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने वाईसीएलले जनाएको छ । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ । साथै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।
वाइसिएलले मातृ पार्टी माओवादी केन्द्र र एमालेबीच एकता सम्पन्न भई बनेको नेकपाको एकता भङ्ग गराएको भन्दै एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए । वाइसिएलले सङ्गठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको सङ्ख्या १६१ सदस्य हुने तय गरेको महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको फैसला गरेपछि निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्य्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगले खारेज गरिदिइ सकेको छ ।
ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले मान्यता दिएर नेकपा आधिकारिकताको विवाद सम्बन्धी मुद्दाको टुंगो लगाउँदै सर्वोच्च अदालतले लगाइसकेपछि नेकपा खारेज भईसकेको छ भने एमाले र माओवादी केन्द्रलाई ब्युँतिसकेका छन् । एमाले र माओवादी केन्द्रलाई ब्युँतिसकेपछि यिनीहरुका यूवा संगठनहरु सक्रिय हुने संकेत देखिएको छ ।