७ मंसिर २०८१, शुक्रबार

माधव-झलनाथ एमालेवाट बाहिरिए केहि फरक पर्दैन : प्रधानमन्त्री ओली


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल नेकपा एमालेवाट बाहिरिए केहि फरक नपर्ने बताएका छन् । हिजो आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बरिष्ठ पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

केपी ओलीसँग सहकार्य हुदैन भनेर झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतमको तर्क आइसकेको छ नी प्रधानमन्त्रीज्यू भन्ने पत्रकार धमलाको प्रश्नमा ओलीले भने, ‘विचार र उद्धेश्यका हिसावले सँगै हुने हो, समृद्ध नेपाल र सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षासँग उहाँहरु सहमत हुनुहुन्छ भने सहकार्य सम्भव छ, हुनु हुदैन भने सहकार्य सम्भव छैन ।’

उनले थप्दै भने, ‘शान्तिपूर्ण राजनीतिको लोकतान्त्रिक धारमा चल्न, विचारधरात्मक ढंगले अगाडि बढ्न उहाँहरु तयार हुनुहुन्छ की हुनुहुन्न, षडयन्त्रका निम्ति हो भने पार्टीमा ठाउँ छैन, बाटो छैन । गुटबन्दी अव पार्टीमा स्वीकार्य हुदैन ।

अर्को फरक प्रसंगमा उनले भने, ‘५ गतेको कागजपत्र ७ गते बनाउनु हुन्छ । यस्ता नक्कली कागज बनाउने हो भने पार्टीका बिरुद्ध मुद्दामामिला गर्ने हो भने, नेताका बिरुद्ध, प्रधानमन्त्रीका विरुद्ध, पार्टीको अध्यक्षको बिरुद्ध मुद्दामामिला गर्न जाने हो भने पार्टीका नबसे नै राम्रो हुन्छ ।’ यसरी उनले सांकेतिक रुपमा माधव-खनाल एमालेवाट बाहिरिए केहि फरक नपर्ने संकेत गरेका हुन् ।

खनाल-नेपाल समूह चैत ७ गते बालुवाटारमा बोलाइएको केन्द्रीय समिति बैठकमा अनुपस्थित भए स्वाभाविक रुपमा कदम चालिने बताएतापनि उनले कस्तो कदम चालिने भन्नेबारे प्रष्ट बताएनन् ।

उनले आफूले चैत्र ७ गते बोलाएकोले सबैलाई आउन निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री ओलीले आफूले पार्टीको बैठक जहाँ बोलाएपनि त्यहाँ सबै नेताहरु आउनुपर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !