२ जेष्ठ २०८१, बुधबार

एमालेको आन्तरिक तयारी : प्रदेश १ को राजधानी इटहरी आसपास


pradsh 1

२२ माघ, विराटनगर । प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने विवाद भइरहेकै बेला यस प्रदेशको राजधानी बिराटनगरवाट अन्तयत्र सार्ने एमालेले आन्तरिक योजना बनाएको छ । प्रदेश सरकार गठन भइसकेपछि विराटनगरमा रहेको राजधानीलाई इटहरी आसपास सार्ने योजना रहेको एमाले स्रोतले बतायो ।

प्रदेश १ मा एमालेको एकल बहुमत भएकाले एमालेकै नेतृत्वमा सरकार बन्ने पक्कापक्की छ । एमालेबाट मुख्यमन्त्रीको दाबी गर्नेहरुमा भीम आचार्य, शेरधन राई र जीवन घिमिरे छन् । यद्यपि उनीहरुले औपचारिकरुपमा राजधानीबारे आफ्नो मत सार्वजनिक गरेका छैनन् । भीम आचार्य आफैं इटहरीका हुन् । शेरधन राई भोजपुरका हुन् । जबकी भोजपुर र खोटाङका एमाले नेताहरु विराटनगरलाई राजधानीका लागि अपायक मान्छन् ।

प्रदेश १ को राजधानी माग गर्नेहरुमा बिराटनगर, इटहरी, धरान र धनकुटाबासीहरु मुख्यरुपमा देखा परेका छन् । धनकुटामा राजधानीका लागि आन्दोलन नै चलिरहेको छ । धरान र इटहरीले आन्दोलन नगरी राजधानीका लागि भित्रीरुपमा लविङ गरिरहेका छन् । इटहरीका साथै मोरङको गोठगाउँ, सुनसरीको तरहरा र पकलीमा समेत प्रदेशको राजधानी हुनुपर्ने माग उठ्ने गरेको छ ।

इटहरी, एमाले प्रदेश कमिटीको निर्णय : चौधरी

चुनावअघि धनकुटामा बसेको एमालेको प्रदेश कमिटीको प्रथम बैठकले प्रदेशको राजधानीका विषयमा ठोस निर्णय नै गरिसकेको एमाले नेता एवं इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अनलाइनखबरलाई बताए । बिराटनगरमा जारी प्रदेशसभा बैठक हेर्न आएका मेयर चौधरीले अनलाइनखबरसँग कुराकानी गर्दै भने- ‘एमालेको एक नम्बर प्रदेश कमिटीको प्रथम बैठक धनकुटामा बस्दाखेरि मोरङ, सुनसरी, झापाका सबै हिसाबले प्रदेशको राजधानी इटहरी हुने कुरा स्वीकार गरेका हुन् ।’

इटहरीलाई प्रदेश १ को राजधानी बनाउने निर्णय अनुसार नै पार्टीले प्रदेशको कार्यालय इटहरीमा राखिएको चौधरीले बताए । उनले भने- ‘नेकपा एमाले पार्टीको प्रदेश कार्यालय एक वर्षअगाडि स्थापना भएर सञ्चालन पनि भइराखेको छ ।’एमाले नेता चौधरीले अगाडि भने- यो अस्थायी राजधानी शब्द म प्रयोग गर्दिनँ । यो प्रदेश सरकारको कामकाज तत्काल सञ्चालन गर्नका लागि बिराटनगर तोक्यो । यसमा हामी सन्तुष्ट छैनौं । म इटहरीको भएको कारणले हैन, हरेक हिसाबले इटहरी राजधानीका लागि उपयुक्त छ भनेर हामीले आधारपत्र प्रस्तुत गरेका छौं ।’

प्रदेश १ को राजधानीबारे चौधरीले भनेजस्तै एमालेको प्रदेश कमिटीको बैठकले निर्णय गरिसकेको र सोहीअनुसार अब एमालेले इटहरी आसपासको क्षेत्रलाई नै राजधानी बनाउने एमालेका एक नेताले बताए । एमालेको एक नम्बर प्रदेश कमिटीका एक नेताले अनलाइनखबरसँग अनौपचारिकरुपमा भने- ‘प्रदेश १ को राजधानी इटहरी, गोठगाउँ, पकली र तरहरासमेतको क्षेत्रलाई समेटेर बनाउनु उपयुक्त हुन्छ । यो एरियालाई एउटा रिङ रोडले जोडेर यहाँ प्रदेश सरकारका मन्त्रालय र संसद लगायतका संरचनाहरु राख्नु उपयुक्त हुन्छ । र, हाम्रो पार्टीले प्रदेश सरकार बनाएपछि यसैमा पहल गर्नेछ ।’

विराटनगरमा प्रदेशको राजधानी राख्दा आफूहरुलाई अपायक पर्ने पहाडी जिल्लाले गुनासो गरिरहेका बेला इटहरी आसपासको कोरिडोरलाई राजधानी बनाइयो भने सबैको भावनाको कदर हुने ती एमाले नेताले बताए । onlinekhabar


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !