२ मंसिर २०८१, आइतबार

आकांक्षी धेरै हुँदा संसदीय दलको नेता चुन्न सकस


nepal-map-pradesh-1024x602

२२ माघ, सुर्खेत । प्रदेश नं ६ मा कुनै पनि दलले अहिलेसम्म संसदीय दलको नेता चयन नगरेर बैठकमा सहभागी भएका छन् । पहिलो अधिवेशन बसिसक्दा पनि दलहरुले संसदीय दलको नेता चुन्न नसक्दा आइतबार भएको ऐतिहासिक प्रदेशसभाको बैठकमा सबै दलहरुको तर्फबाट प्रतिनिधिमूलक सहभागिता जनाइयो । यो प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

वाम गठबन्धनभित्रका दुई ठूला दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)मा आकांक्षी धेरै भएपछि प्रदेश सरकार गठन तथा संसदीय दलको नेताको नाम टुङ्गो लगाउन कठिन भएको छ । यी दुई दलबीच भएको सहमतिअनुसार एमालेको भागमा सभामुख र माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको छ । आकांक्षीहरु बढेपछि संसदीय दलको पदाधिकारीका उम्मेदवार चयन गर्न पनि त्यत्तिकै सकस परेको छ । प्रथमतः संसदीय दलको नेता चयन गरेपछि मुख्यमन्त्रीको उम्मेदवार तय गरिने माओवादी केन्द्रका सांसद कृष्णा शाहले जानकारी दिनुभयो । “लगत्तै राष्ट्रियसभाको चुनाव भएकाले केही ढिला भएको हो, छिट्टै संसदीय दलको नेता तथा अन्य पदाधिकारी चयन गर्छौं”, उहाँले भन्नुभयो ।

माओवादीभित्र संसदीय दलको नेताका लागि जुम्ला प्रदेश (क) का प्रदेश सांसद नरेश भण्डारी र कालीकोटका प्रदेश (ख) प्रदेश सांसद तथा निवर्तमान ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले दाबी गरिरहेका छन् । प्रदेश नं ६ मा एमाले र माओवादी केन्द्रभित्र धेरै आकांक्षीका कारण सरकार तथा संसदीय दलको नेता तथा पदाधिकारी चयन प्रक्रिया लम्बिएको हो । प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलका बीचमा समेत छलफल प्रारम्भ भएको छ । बाम गठबन्धनमा सभामुखका लागि यो प्रदेशमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको छ ।

सभामुखमा एमालेवाट हेभिवेटका नेताले खासै इच्छा देखाएका छैनन् । यसअघिको संसदीय दलको बैठकबाट माओवादीलाई मुख्यमन्त्री नछोड्ने निर्णय गरेको एमालेले पार्टी केन्द्रको निर्णय बमोजिम माओवादी केन्द्रलाई मुख्यमन्त्री छोड्ने भएको हो । एमालेभित्र दलको नेताको टुङ्गो नलागी सभामुखको टुङ्गो नलाग्ने देखिएको छ । एमालेका हेभिवेटका सांसदहरु यमलाल कँडेल र प्रकाश ज्वालाले सभामुखभन्दा संसदीय दलको नेतामा बढी आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुङ्गो नलागेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !