
काठमाडाैं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार अपरान्ह देउवा निवास पुगेर भारतीय राजदूत क्वात्राले देउवालाई भेटेका हुन् ।
अदालतले संसद पुनःस्थापनाको फैसला गरेको २ दिनपछि भारतीय राजदूत भावी प्रधानमन्त्रीको प्रवल दावेदारका रुपमा रहेका देउवालाई उनकै निवास बुढानिलकण्ठमै गएर भेट्नुलाई राजनीतिक वृत्तमा अथपूर्ण रुपमा विश्लेषण गरिएको छ ।
राजदूत क्वात्राले संसद पुनःस्थापनापछिको विकसित नेपाली राजनीतिक परिस्थितिबारे विशेष चासो राखेका थिए । सभापति देउवाले संसद पुनःस्थापना हुनुले संविधान ट्रयाकमा आएको र राजनीतिक प्रक्रिया स्वाभाविक बाटोमा आएको बताएका थिए ।
भेटबारे दुवै पक्षले औपचारिक रुपमा नखुलाए पनि सम्भावित सत्ता समीकरणबारे राजदूत क्वात्राले चासो राखेको स्रोतको दाबी छ । तर आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म प्रचण्ड-नेपाल समूहसँग सहकार्य नगर्ने भएको छ ।
नेपाली काँग्रेसले नेकपा विभाजनको टुंगो लागेपछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको हो । आज बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो ।