काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।
सो समूहको संसदीय दलको आज बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराउनुभएको हो ।
उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहनुभएका सांसदहरुलाई अतिआवश्यकबाहेक जानकारी गराएर मात्र बाहिर जानुहोला भनेर निर्देशन दिएको नेत्री रामकुमारी झाँक्रीले बताउनुभयो ।
बैठकमा उहाँहरुले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवादसमेत दिनुभएको थियो । गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो ।
सो विषयका सम्बन्धमा परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो ।