१७ असार २०८१, सोमबार

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे


सुरेन्द्र पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताउनुभएको हो ।

“सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ”, उहाँले भन्नुभयो, “प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले प्रतिगमन पराजित भएको छ ।” सर्वोच्च अदालतले न्यायपूर्ण आन्दोलनलाई बचाएको छ, न्यायमूर्तिलाई सलाम छ, उहाँले भन्नुभयो ।

नेता पाण्डेले चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उल्लेख गर्दै हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने बताउनुभयो । नेकपाको मूलधार अध्यक्षद्वय प्रचण्ड र नेपालले समातेको भन्दै उहाँले बाटो बिराएर गएकालाई घर फर्कनसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सर्वोच्चले मूलधार यही हो भनेर पुष्टि गरिसकेको छ । आउनु हामीसँगै जाउँ ।” नेकपालाई एकजुट बनाएर लैजाने समय आएको उहाँको भनाइ छ ।

नेकपा वाग्मती प्रदेश अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको बताउनुभयो । “सबै दलसँग सहकार्य गरेर अब देशलाई समृद्धितर्फ लैजानु पर्दछ”, उहाँले भन्नुभयो, “एतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी जनताले नेकपाको काँधमा सुम्पिएको छ ।”

नेकपा केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संविधानको रक्षाका लागि अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । कार्यक्रममा नेकपा चितवन इञ्चार्ज कृष्ण खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले बोल्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !